२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज (शनिबार) प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव दर्ता गराएका छन्।
शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोनलले सरकारप्रति विश्वासको मत दिन सांसदहरूलाई आग्रह गर्दै प्रस्ताव पेश गरेका हुन्। उनले “मधेसलाई जोगाउन सबै दल एकजुट हुनुपर्ने” धारणा राख्दै आफ्नो सरकारलाई समर्थन गर्न अनुरोध गरेका थिए।
मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावमाथि हाल सदनमा बहस चलिरहेको छ। प्रस्तावपछि एमालेका प्रदेश सांसदहरूले बोल्दै आफ्नो पार्टीले यो सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका छन्।
सोनलले गत महिना मुख्यमन्त्री पदको शपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गरी प्रदेश सरकार सञ्चालन गरिरहेका छन्। विश्वासको मतमा उनको भविष्य प्रदेशसभामा हुने मतदानले निर्धारण गर्नेछ।














