२२ कात्तिक,काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नयाँ व्यवसाय स्थापना गरी अर्थतन्त्रको विकासमा योगदान दिन सुझाव दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै गभर्नर पौडेलले हालको परिस्थितिलाई अवसरको रूपमा लिएर उद्योग व्यवसाय सुधार गर्न सकिने बताए। उनले भने, “एउटा दुर्घटना जस्तो भयो, तर वैधानिक सरकार छ र हामी निरन्तर तपाईंहरूसँग संवादमा छौं। नयाँ बिजनेस बनाएर अघि बढ्नुस् र उच्च मनोबलका साथ काम गर्नुस्।”
उद्योगी–व्यवसायीलाई प्रोत्साहित गर्दै उनले मनोबलले अर्थतन्त्रमा ठूलो भूमिका खेल्ने बताएका छन्। साथै, कालोसूचीले अर्थतन्त्रमा बाधा पुर्याउने भएकाले सम्बन्धित निकायले यसलाई समाधान गर्न आवश्यक रहेको उल्लेख गरे।
गभर्नर पौडेलले नेपालका उद्योगी–व्यवसायीले अवसरलाई सकारात्मक रूपमा लिएर आर्थिक वृद्धि र व्यवसायिक सुधारमा सक्रिय भूमिका खेल्नुपर्ने पनि जोड दिए।

















