२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकारलाई नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसदहरूले विश्वासको मत नदिने घोषणा गरेका छन्।
प्रदेशसभाको बैठकमा बोल्दै माओवादी सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन्। वक्तव्यका क्रममा अन्सारीले आफ्नो अनुहारमा कालो मसो लगाउँदै सरकारप्रति असन्तुष्टि जनाएका थिए।
अन्सारीसँगै माओवादीकी अर्की महिला सांसदले पनि सदनमा बोल्दै सोनल सरकारलाई समर्थन नदिने घोषणा गरेकी छन्।
माओवादी सांसदहरूको यस निर्णयसँगै मुख्यमन्त्री सोनलको सरकार थप संकटमा परेको छ। यसअघि नै गठबन्धनभित्रका केही सांसदहरू अनुपस्थित रहेकाले सरकारलाई बहुमत जुटाउन कठिन परिस्थिति सिर्जना भएको राजनीतिक विश्लेषकहरूको आकलन छ।














