२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशसभाको बैठक केहीबेरका लागि स्थगित गरिएको छ। सभामुख रामचन्द्र मण्डलले सदनको बैठक १० मिनेटका लागि स्थगन गरेका हुन्।
मुख्यमन्त्री जितेन्द्र सोनलले सदन स्थगनको माग गरे पनि सभामुखले बैठक सञ्चालन जारी राख्न खोजेपछि सत्तारुढ दलकै सांसदहरूले विरोध जनाएका थिए। सरकारले मन्त्रीहरू सदनमा उपस्थित नभएको भन्दै सांसदहरूले असन्तुष्टि प्रकट गरेपछि सदन अवरुद्ध भएको हो।
सत्तारुढ दलका सांसदहरूको निरन्तर विरोधपछि सभामुख मण्डलले अन्ततः बैठक स्थगित गरेका हुन्।
यसअघि सदनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका थिए। उनले सदनमै आफ्नो अनुहारमा कालो मसो लगाउँदै सरकारप्रति असन्तुष्टि जनाएका थिए।
अन्सारीसँगै माओवादीकी अर्की सांसद माला कुमारी कर्णले पनि विश्वासको मत नदिने घोषणा गरेकी छन्। सत्तारुढ दलकै सांसदहरूले असमर्थन जनाएपछि मुख्यमन्त्री सोनलको सरकार थप संकटमा परेको छ।
सदन स्थगित भएपछि अब विश्वासको मतको प्रक्रिया र गठबन्धनको भविष्यबारे दलहरूबीच थप छलफल हुने जनाइएको छ।














