२३ कार्तिक, काठमाडौँ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक हरि खड्काले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन्। प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीमध्ये छनोट गरेर अन्तिम टोली तयार पारिएको हो।
नेपालले आउँदो १३ नोभेम्बर (बिहीबार) का दिन बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्ने तालिका रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
मुख्य प्रशिक्षक हरि खड्काको नेतृत्वमा सहायक प्रशिक्षकहरू बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन्। टोलीको व्यवस्थापन पक्षले अन्तिम तयारीका रूपमा बन्द प्रशिक्षणलाई तीव्र पारेको एन्फा स्रोतले बताएको छ।
कप्तान किरण चेम्जोङको नेतृत्वमा रहेको टोलीमा अनुभव र युवा खेलाडीबीचको संयोजन गरिएको प्रशिक्षक खड्काले बताए। उनका अनुसार आगामी दुईवटा खेल नेपालका लागि एसियन कप छनोट तयारीका महत्वपूर्ण अवसर हुनेछन्।

















