२३ कात्र्तिक, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनका कारण पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ ।
मृगौलासम्बन्धी रोगबाट पीडित आलमको शनिबार उपचारका क्रममा भएको दुःखद निधनपश्चात् कांग्रेसले शोक मनाउने परम्परा अनुरूप यो नि र्णय गरेको हो । आज बिहान साढे ११ बजेका लागि तय भएको बैठक अब मंगलबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आलमको निधनपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कार्तिक २२, २३ र २४ गतेसम्म पार्टीका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने, साथै कार्तिक २३ गते आज केन्द्र, प्रदेश र जिल्लाका सम्पूर्ण कार्यालय बन्द गर्ने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ, जसले गर्दा १५औँ महाधिवेशनको मिति र कार्यतालिकाबारे छलफल गरिरहेको केन्द्रीय समितिको नियमित कार्यसूचीमा अल्पविराम लागेको छ ।
गत असोज २८ गतेबाट प्रारम्भ भएको यो बैठकमा नेताहरूले महाधिवेशनको समय र तयारीबारे फरक-फरक धारणा राखिरहेका बेला शोकका कारण छलफल दुई दिनका लागि रोकिएको छ ।















