Logo

२३ कात्र्तिक, काठमाडौँ । माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) भित्रको गहिरो आन्तरिक कलहका कारण मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार जम्मा २५ दिनमै ढलेको छ ।

असोज २९ गते माओवादी केन्द्रसहित पाँच साना दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपाका नेता सोनलले शनिबार प्रदेशसभामा विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्, जसलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले तत्काल स्वीकृत गरेकी छिन् । यो अप्रत्याशित संकटको मुख्य कारण यौन विचलनको आरोपपछि राजीनामा दिएका तत्कालीन माओवादीका भरत साहलाई कात्तिक १७ गते पुनः संसदीय दलको नेतामा पुनर्स्थापित गर्नु रहेको खुलेको छ।

केन्द्रीय नेतृत्वको निर्णयपछि माओवादीका सांसदहरू रहबर अन्सारी र माला कर्णसहित बहुमत सदस्यहरूले सोनललाई विश्वासको मत दिन अस्वीकार गर्ने घोषणा गरे, जसले सोनलले बहुमत गुमाउने अवस्था सिर्जना भयो । सांसद माला कर्णले भरत साहलाई दलको नेता बनाउने केन्द्रको निर्णयले यस्तो अवस्था सिर्जना भएको पुष्टि गरेकी छिन् ।

माओवादीका अधिकांश सांसदहरूले मातृका यादवको जोडबलमा बहुमतको आग्रह लत्याएर साहलाई पुनर्स्थापित गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। शनिबार प्रदेशसभा बैठकमा माओवादी सांसद रहबर अन्सारीले विरोध स्वरूप आफ्नै अनुहारमा कालोमोसो दलेर केन्द्रीय नेतृत्वको निर्णय लाद्ने कामप्रति तीव्र असन्तुष्टि पोखेका थिए । यसरी मधेसको राजनीतिमा अस्थिरता ल्याउँदै एक शक्तिशाली गठबन्धनको पतनमा केन्द्रीय नेतृत्वको विवादास्पद निर्णय प्रमुख कारक बनेको छ ।


सम्बन्धित समाचार
भर्खरै