२३ कात्तिक,ठोरी । कार्तिक दोस्रो सातादेखि परेको बेमौसमी वर्षाले पर्साको ठोरी क्षेत्रका तोरी खेती गर्ने किसानहरूलाई ठूलो समस्यामा पारेको छ। खेत खनजोत गरेर तोरी छरेपछि परेको अनावश्यक वर्षाले खेतमा चिस्यान बढाएपछि बिरुवा उमेर र विकासमा असर परिरहेको छ। यसका कारण किसानहरू पुनः तोरी छर्ने कि पहिले छरेको बीउ यत्तिकै राख्ने भन्ने निर्णयमै अलमलमा परेका छन्।
तोरी हबका रूपमा परिचित ठोरी गाउँपालिका क्षेत्रका किसानहरू अहिले खेतीको भविष्यबारे अनिश्चित छन्। ठोरी–४ मिलचोकका किसान कान्छा तामाङका अनुसार, “तोरी उम्रिएको छ, तर बिरुवा फस्टाउन सकेको छैन। खेत चिसो र हिलो भएकाले जराले वृद्धि गर्न पाएको छैन। अब फेरि छरौं भने दोहोरो खर्च र जोखिम दुबै हुन्छ।”
त्यसै वडाको गोपीवस्तीका किसान ङेमा तामाङ पनि उस्तै समस्यामा परेका छन्। उनका अनुसार, वर्षा ढिलो भएपछि बीउ उम्रिए पनि हुस्सु र चिसोका कारण बिरुवा बलियो हुन सकेको छैन। “तोरी फेरि छरौं भने हुस्सुका कारण उब्जनी नहोला भन्ने डर छ, नछरौं भने कम फल्ने चिन्ता छ,” उनले भनिन्, “फेरि छरियो भने पनि राम्रो उत्पादनको ग्यारेन्टी छैन।”
तोरीको बिरुवा कक्रक्क परेर बसेको, उत्पादनबारे अन्योल
अहिले खेतमा तोरीका बिरुवा हरियो भए पनि वृद्धि रोकिएको किसानहरूले बताएका छन्। माटोमा अत्यधिक चिस्यान र सूर्यको उज्यालो कम हुँदा बिरुवा ठिङ्ग बनेका छन्। कतिपय किसानले उत्पादन केही घटे पनि ठुलो असर नपर्ने अनुमान गरेका छन् भने केही किसानले भने बिरुवा होचो र कमजोर भएको कारण उत्पादन नै नहुने दाबी गरेका छन्।
ठोरी–४ का अनुभवी किसान भक्तबहादुर गोलेले भने यसअघि पनि यस्तै परिस्थिति देखिएको स्मरण गरे। उनका अनुसार, करिब दुई दशकअघि पनि तोरी छरेर ठुलो वर्षा परेको थियो, तर त्यसपछिको उत्पादन खासै घटेको थिएन। “यसपटक पनि बिरुवा अलि होचो हुने भए पनि उत्पादन धेरै घट्ने विश्वास छैन,” उनले भने। गोलेले करिब तीन बिघामा तोरी खेती गरेका छन् भने तीमध्ये एक बिघा खेतमा तोरी जोतेर गहुँ लगाउने योजना बनाइरहेका छन्।
कतिपय किसान तोरी खेत जोत्न थाले
वर्षाको कारण खेतमा उम्रिएको तोरी राम्रोसँग बढ्ने छाँटकाँट नदेखिएपछि ठोरीका केही किसानले तोरी खेत नै जोत्न थालेका छन्। ठोरी–५ सुवर्णपुरकी किसान पुनारोधी पाख्रीनले भनिन्, “पहिले छरेको तोरी राम्रोसँग फस्टाएको छैन। अब फेरि छरौं भन्ने सोचमा छौं।”
तर समस्या यहाँ पनि उत्तिकै छ। कात्तिक अन्त्यतिर पनि खेतको चिस्यान घटेको छैन। यसले गर्दा ढिलो गरी छरेको तोरीमा शीतलहर र हुस्सुको असर पर्न सक्ने विशेषज्ञहरूको अनुमान छ। किसानहरूका अनुसार, यदि आगामी साता हुस्सु र चिसो बढे, ढिलो छरेको तोरी फस्टाउन पाउँदैन।
विकल्पका रूपमा गहुँ पनि चुनौतीपूर्ण
तोरीपछि विकल्पका रूपमा गहुँ खेती गर्न सकिने भए पनि स्थानीय किसान त्यसतर्फ आकर्षित भएका छैनन्। ठोरी क्षेत्रमा सिंचाइको अभाव, वन्यजन्तुको आतङ्क र लागतका कारण गहुँ खेती कम हुने गरेको किसानहरूको भनाइ छ। गहुँ खेतमा लगाउँदा हाँस, बँदेल र अन्य जनावरबाट ठूलो क्षति हुने गरेको उनीहरूको गुनासो छ।
उत्पादनमा २०–३० प्रतिशत गिरावटको अनुमान
कृषि प्राविधिकहरूको प्रारम्भिक अनुमान अनुसार, यसपालि बेमौसमी वर्षा, चिसो र हुस्सुका कारण ठोरी क्षेत्रको तोरी उत्पादनमा कम्तीमा २० देखि ३० प्रतिशतसम्म कमी आउन सक्ने देखिन्छ। खेतमा पानी नघटेसम्म बिरुवा फस्टाउने सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ।
किसानहरू भने अझै पनि आशावादी छन्। उनीहरूका अनुसार, मंसिर पहिलो सातापछि मौसम खुलेर घाम लागेमा बिरुवा विस्तारै बढ्ने र उत्पादन सामान्य अवस्थामा पुग्ने सम्भावना रहन्छ।
तर यदि मौसममा सुधार नभए ठोरीजस्तो तोरी उत्पादनमा अग्रस्थानमा रहेको क्षेत्र पनि यसपालि ठूलो घाटामा पर्न सक्ने खतरा छ। स्थानीय तहले किसानहरूलाई वैकल्पिक उपाय र प्राविधिक सल्लाहका कार्यक्रम ल्याउनुपर्ने किसानहरूको माग छ।

















