२३ कात्तिक, काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप अनुसन्धानका लागि अदालतले ८ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले आइतबार कार्कीविरुद्ध दायर मुद्दामा प्रहरीले मागेको थप समय स्वीकृत गर्दै उनीमाथि अनुसन्धान जारी राख्न आदेश दिएको हो। ६६ वर्षीय कार्की अवकाशप्राप्त सहसचिव हुन् र हाल चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन्। उनलाई शुक्रबार चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार कार्कीलाई दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमितता प्रकरणमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, ट्रस्टको नाममा दर्ता रहेको जग्गा संस्थालाई हानि हुने गरी ३० वर्षका लागि लिजमा दिइएको आशंकामा कार्कीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ।
सीआईबीले उक्त लिज सम्झौताबाट नेपाल ट्रस्टलाई आर्थिक नोक्सानी पुगेको ठहर गर्दै सम्बन्धित अन्य व्यक्तिहरूको समेत संलग्नता खोजीकार्य अगाडि बढाएको जनाएको छ।

















