२३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन्।आइतबार नेता वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरू आयोगमा उपस्थित भई दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाएका हुन्।
यसअघि सो पार्टीले कात्तिक २० गते नै दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराइसकेको थियो।विभिन्न १० वटा वामपन्थी दल र समूहहरूको एकता घोषणा गर्दै गठन भएको यस पार्टीले एकता घोषणा भएको भोलिपल्ट नै आयोगमा निवेदन दिएको थियो।
आज थप कागजात बुझाउँदै नेताहरूले दर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी दिएका छन्।नवगठित पार्टीको चुनाव चिन्ह “पाँचकुने तारा” रहनेछ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गर्दै, “आवश्यक प्रक्रिया अघि बढेको छ,” भनेका छन्।
आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

















