२३ कात्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा देशमा अराजकता र विनाश फैलाउने प्रयास भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी गरेका हुन्।
उनी भन्छन्, “नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरुलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाइ गर्न खोजियो। तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो, जुन जेनजी आन्दोलनमा देखियो।”
ओलीले यस अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेष गरी युवाहरूको काँधमा रहेको बताए। उनले युवाहरूलाई संयमित, जिम्मेवार र देशहितमा उभिन पनि आह्वान गरे।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा उठाइएका मागमध्ये धेरै जायज रहेको स्वीकार गर्दै भने, “भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरूले राम्रा माग राखेका थिए। तर ती माग, आन्दोलन र मुद्दा युवाहरूको हातबाट खोस्ने तत्वहरू पहिले नै त्यहाँ जम्मा भइसकेका थिए।”
ओलीले भदौ २४ गतेको देशभरको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी गर्दै भने, “२४ गतेको हिंसा २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन। घटना हुनुभन्दा पहिले नै म्याप बनाई योजना अनुसार गरिएको थियो।”
उनी अन्त्यमा युवाहरूलाई भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्न आह्वान गर्दै राष्ट्र र युवाप्रतिको जिम्मेवारीको महत्व औंल्याए।

















