२४ कार्तिक, काठमाडौँ । नेपालमा जलनसम्बन्धी स्वास्थ्य समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ।
नेपाल जलन फाउन्डेशनका अनुसार देशभर वार्षिक करिब ५० हजार मानिस जलनबाट प्रभावित हुने गरेका छन्, जसमा १५ सयदेखि दुई हजारजतिले समयमै प्रभावकारी उपचार नपाउँदा ज्यान गुमाउँछन्।
विशेषज्ञहरूका अनुसार जलन उपचारका लागि आवश्यक पूर्वाधार, जनशक्ति र विशिष्टीकृत अस्पताल अभाव नै यो समस्याको मुख्य कारण बनेको छ।
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. पीयूष दाहालका अनुसार समयमै उपचार गर्न सके अधिकांश जलनका विरामीलाई बचाउन सकिन्छ। तर उपत्यका बाहिर जलन उपचारका लागि आवश्यक अस्पताल र विशेषज्ञ नभएकाले ज्यान गुमाउने घटना बढेको बताउँछन्।
“जलनका विरामीको उपचार गर्ने विशिष्टीकृत स्वास्थ्य संस्था काठमाडौं बाहिर नहुँदा उपचार गर्न सकिने विरामी पनि अकालमा मर्छन्,” उनले भने।
हाल काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर अस्पताल, पाटन अस्पताल र वीर अस्पताललाई जलन उपचारका डेडिकेटेड केन्द्रका रूपमा तोकिएको छ। तीमध्ये कीर्तिपुर अस्पताललाई सबैभन्दा प्रभावकारी केन्द्रका रूपमा मानिन्छ।
सरकारले गत वर्षै सातै प्रदेशमा जलन पीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो। तर त्यसको कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन।
प्रा.डा. दाहालका अनुसार, “जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सरकारले घोषणा त गर्यो, तर व्यवहारमा जलनका विरामी अझै काठमाडौं धाउन बाध्य छन्।”
सरकारको निर्णयअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगञ्जस्थित नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल, जुम्लाको कर्णाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा निःशुल्क जलन उपचार सुरु गर्ने भनिएको थियो। तर अहिलेसम्म ती अस्पतालहरूमा आवश्यक पूर्वाधार र दक्ष जनशक्ति नहुँदा निर्णय कागजमै सीमित भएको छ।
नेपालमा हालसम्म वरिष्ठ प्लास्टिक सर्जन २५ जना मात्र छन्, जसमा अधिकांश काठमाडौंमै केन्द्रित छन् । नेपालगञ्ज र विराटनगरमा मात्र एक–एक जना विशेषज्ञ कार्यरत छन्, बाँकी सबै उपत्यकाभित्र सीमित छन्।
कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. शंकरमान राई भन्छन्, “देशभर जलन उपचारका लागि पूर्वाधार र जनशक्ति अभाव छ। समयमै उपचार गर्न सकिने विरामी पनि यसै कारण गुमिरहेका छन्।”
उनका अनुसार, साना बच्चामा १० प्रतिशतभन्दा बढी र वयस्कमा १५ प्रतिशतभन्दा बढी जलन भएमा श्वासप्रश्वास, मुटु, कलेजो र स्नायु प्रणालीमा गम्भीर असर पुग्ने भएकाले समयमै उपचार आवश्यक हुन्छ।
स्वास्थ्य मन्त्रालयले जलन उपचारका लागि एक कार्यविधि तयार पारेको थियो । त्यसअनुसार संघ र प्रदेश अस्पतालहरूलाई वार्षिक ५०/५० लाख रुपैयाँ, कीर्तिपुर अस्पताललाई एक करोड, र त्यहाँको भौतिक संरचना विस्तारका लागि थप एक करोड रुपैयाँ छुट्याउने योजना थियो। तर यो रकम पनि हालसम्म प्रभावकारी रूपमा खर्च गर्न नसकिएको फाउन्डेशनले जनाएको छ।
विशेषज्ञहरूको भनाइमा, जलन उपचारका लागि देशव्यापी अभियान सुरु नगरेसम्म मृत्यु दर घटाउन सकिँदैन । प्रा.डा. दाहाल भन्छन्, “जलन उपचारमा दक्ष जनशक्ति विकास, उपकरणको पहुँच र अस्पताल विस्तारमा सरकारले तुरुन्त ध्यान दिनुपर्छ। जलनमा समयमै उपचार भए जीवन बचाउन सकिन्छ।”
नेपालमा जलन उपचारको अवस्थाले स्वास्थ्य सेवाको असमान पहुँचलाई स्पष्ट देखाएको छ । समयमै उपचार, पूर्वाधार विस्तार र निःशुल्क उपचारको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र प्रत्येक वर्ष ज्यान गुमाउने हजारौँ नागरिकको जीवन बचाउन सकिने विशेषज्ञहरूको सुझाव छ ।















