२४ कार्तिक, वीरगञ्ज । मधेस प्रदेशको राजनीतिले सोमबार बिहान नाटकीय मोड लिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा शपथ गराएकी छिन् ।
शपथ ग्रहणको कार्यक्रम जनकपुरमा नभई सिन्धुली-महोत्तरी सीमास्थित एक होटलमा गोप्य रूपमा आयोजना गरिएको थियो । भण्डारीले संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता सरोज यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा शपथ गराएकी हुन् ।
शपथपछि रातोपाटीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले जनकपुरमा विरोध प्रदर्शन भइरहेकाले सिन्धुलीमा शपथको व्यवस्था गरिएको बताए । उनले भने, “मैले भर्खरै मुख्यमन्त्री पदमा शपथ लिएँ। जनकपुरमा अवस्था सहज थिएन, विरोध प्रदर्शन भइरहेको थियो, त्यसैले शपथ सिन्धुलीमा राखिएको हो।”
यादवले मधेस प्रदेशमा स्थिरता र सुशासनको कार्यसूची अघि सार्ने प्रतिबद्धता जनाएका छन् ।
विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्रै लोसपा नेता जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनल नेतृत्वको सरकार बनेको २५ दिनमै ढलेको थियो। सोनलले आफ्नो राजीनामापछि पनि राजनीतिक ‘नैतिकता र प्रक्रिया’मा धक्का लागेको आरोप लगाएका छन्।
उनका अनुसार प्रदेश प्रमुख भण्डारी स्वास्थ्य उपचारका नाममा काठमाडौँ जाने भन्दै जनकपुरबाट निस्किएकी थिइन्, तर बाटोमा नै सिन्धुलीमा पुगेर यादवलाई शपथ खुवाइन्।
सोनलले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, “मधेस प्रदेशका जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्। एक त महिला, अर्को स्वास्थ्यको कुरा गरिन्।”
प्रदेश प्रमुखले संविधान र राजनीतिक मर्यादाको उल्लङ्घन गर्दै एक दल विशेषलाई फाइदा हुने गरी कार्य गरेको आरोप सोनलको छ।
संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्छन् । हाल प्रदेश सभामा एमाले सबैभन्दा ठुलो दल भएकाले भण्डारीले सोही प्रावधानअनुसार यादवलाई नियुक्त गरेको बताइएको छ। तर, शपथ ग्रहणको स्थान र समय गोप्य राखिएकोले प्रदेशमा संवैधानिक र नैतिक विवाद चर्किएको छ।
मधेस प्रदेशमा पछिल्ला केही महिनादेखि सरकार गठन र विघटनको सिलसिला दोहोरिँदै आएको छ । यसअघि महन्थ ठाकुर र सरोज यादव (एमाले) नेतृत्वका सरकार पनि लामो समय टिक्न सकेको थिएन । अब पुनः मुख्यमन्त्री बनेका यादवले विश्वासको मत हासिल गरेर स्थिर सरकार दिन सक्छन् वा प्रदेश फेरि राजनीतिक अस्थिरतामा फस्नेछ भन्ने अबको यो मुख्य प्रश्न बनेको छ।















