२४ कार्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीसहितका नेताहरू आज (सोमबार) नेकपा (एमाले) मा औपचारिक रूपमा फर्किँदै छन् ।
एमालेले दिउँसो साढे २ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गरेको छ । सोही कार्यक्रममा झाँक्री, किसान श्रेष्ठलगायत नेताहरूले औपचारिक रूपमा एमाले प्रवेश गर्ने जनाइएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि पार्टी छाडेका नेताहरुलाई पुनः एमालेमै फर्किन आह्वान गर्दै ‘घर फर्क अभियान’ सञ्चालन गरेका थिए । सो अभियानअन्तर्गत पहिलो चरणमा झाँक्रीलगायतका नेताहरू पार्टीमा पुनः प्रवेश गर्न लागेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेकी नेतृ झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेख्दै आफ्नो एमालेमा फर्कने निर्णयलाई “घर फर्क अभियान” को रूपमा व्याख्या गरेकी छिन् ।
“विगतका केही घटनाक्रमका कारण हामी अलग मार्गमा गएका थियौँ, तर विचार र सिद्धान्त एउटै घरभित्र रहन्छन्,” झाँक्रीले लेखेकी छिन्, “अब हामी फेरि हाम्रो मूल घर एमालेमै फर्किरहेका छौँ ।”
झाँक्री नेकपा (एकीकृत समाजवादी) गठनपछि उक्त पार्टीकी केन्द्रीय नेतृको रूपमा सक्रिय थिइन् । तर, पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) लगायत दलहरूसँग पार्टी एकता गर्ने तयारी गरेपछि उनी असन्तुष्ट भएकी थिइन् ।
पार्टी स्रोतका अनुसार झाँक्रीसँगै केही अन्य नेताहरू र कार्यकर्ताहरू पनि एमालेमा पुनः प्रवेश गर्ने तयारीमा छन् ।
एमालेले आजको कार्यक्रमलाई “घर फर्क अभियानको पहिलो चरण” का रूपमा लिएको छ । पार्टीले पूर्व नेता–कार्यकर्ताहरूलाई पुनः एकजुट गराउँदै आगामी निर्वाचनका लागि संगठन सुदृढीकरणको अभियानका रूपमा यसलाई अघि बढाउने जनाएको छ ।















