२४ कासत्र्तिक, काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ ।
आक्रोशित दलका सांसद र कार्यकर्ताहरूले आज बिहान जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका प्रदेश सांसदहरूको समूह मुख्यमन्त्रीको कार्यकक्षभित्र प्रवेश गरी सामान्य तोडफोड गरेका छन् । यस क्रममा कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंहले त झन् नेपालको राष्ट्रिय झण्डा निकालेर फालेको र अर्का सांसदले कुर्सी फालेको समाचार छ, जसले विवादलाई थप गम्भीर मोड दिएको छ।
यसैगरी, प्रदर्शनकारीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै उनको कार्यालय अगाडि नाराबाजी गरेका छन् र कार्यालयको बोर्डसहितका गमलाहरूमा क्षति पुर्याएका छन् । प्रदेश प्रमुख भण्डारीले अस्वस्थताको कारण देखाउँदै काठमाडौँ हिँडेको बताए पनि महोत्तरीको बर्दिबासस्थित एक होटेलमा पुगेर एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि विपक्षी दलहरू रुष्ट बनेका हुन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखको यस कार्यलाई ‘मधेशको अस्मिता समाप्त पार्ने खेल’ को संज्ञा दिएका छन् । तोडफोड र नाराबाजी अहिले पनि जारी रहेको र यस घटनाले मधेशको राजनीतिक तनावलाई उत्कर्षमा पुर्याएको छ ।















