मधेश प्रदेशमा नेकपा एमालेका सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि उत्पन्न राजनीतिक विवादको बीचमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अत्यन्तै उग्र प्रतिक्रिया दिएका छन् । उनले यस घटनालाई ‘नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका’ को रूपमा व्याख्या गर्दै मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका लागि काठमाडौं जान्छु भन्दै निवासबाट निस्किएर बर्दिबासको एक होटलमा गोप्य रूपमा शपथ गराएको कार्यलाई राउतले ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख’ को कदम भनेका छन् । उनले यस षड्यन्त्रविरुद्ध अब डराएर नबस्ने र पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरूरी रहेको बताएका छन् । डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमै डाकेर भए पनि ‘मधेश प्रदेशको स्वाययत्ता घोषणा गर्नु र ‘आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्न’ आह्वान गरेका छन् ।
उनले ‘५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन’ भन्दै ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ’ भन्ने अडान राखेका छन् । राउतले अहिलेको संघीय सरकार नै आन्दोलनको माग बमोजिम बनेकाले मधेशी जनताको चाहना अनुसार प्रदेश सभाको दुई तिहाइको समर्थनमा स्वायत्त घोषणा गर्न मिल्ने तर्क पनि प्रस्तुत गरेका छन् । उनको यो प्रतिक्रियाले मधेशको राजनीतिक संकटलाई थप संवेदनशील र चरम बिन्दुमा पुर्याएको छ ।















