Logo

२४ कात्तिक,काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोलीले भारतका तीन घरेलु टोली — उत्तराखण्ड, बङ्गाल र राजस्थानसँग मैत्रीपूर्ण टी–२० सिरिज खेल्नेछ ।

मैत्रीपूर्ण खेलहरू देहरादुनको चिदरवाला स्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछन् । नेपालले प्रत्येक टोलीसँग दुई–दुई खेल खेल्नेछ । खेल तालिका अनुसार नेपालले कात्तिक २७ गते (बिहीबार) राजस्थानसँग पहिलो खेल खेल्दै यात्रा सुरु गर्नेछ । त्यसपछि कात्तिक २८ गते उत्तराखण्ड र २९ गते बङ्गालसँग खेल्नेछ । पुनः दोस्रो चरणमा मंसिर १ गते राजस्थान, मंसिर २ गते उत्तराखण्ड र मंसिर ३ गते बङ्गालसँग प्रतिस्पर्धा हुनेछ ।

क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा लामो समयपछि अश्मिना कर्माचार्य फर्किएकी छन् भने सीमाना केसी पहिलो पटक टोलीमा परेकी छन् ।

यस्तै अलिशा यादव, मनीषा उपाध्याय, सना प्रवीण, ईश्वरी विष्ट, ममता चौधरी र बिन्दु रावल पनि पुनः टोलीमा फर्किएका छन् ।

क्यानका अनुसार आगामी जनवरीमा नेपालमै हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको तयारीस्वरूप यो भारत भ्रमण आयोजना गरिएको हो ।


सम्बन्धित समाचार