Logo

२४ कात्र्तिक, काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव बढेको छ ।

पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षीया संगीता विकको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि उनका परिवार र आफन्तले चिकित्सकको लापरबाही भएको भन्दै नाराबाजी गरेका छन् । उनीहरूले प्रसूति वार्डअगाडि पुगेर दोषीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

आफन्तका अनुसार, कात्तिक २० गते भर्ना गरिएकी संगीताको भिडियो एक्सरेबाट बच्चाको धड्कन नभएको पुष्टि भएपछि चिकित्सकको सल्लाहमा उनलाई नर्मल डेलिभरीको प्रयास गरिएको थियो । तर, कात्तिक २२ गते उनको अवस्था बिग्रँदै गएपछि आईसीयूमा सारिएको र सोही राति ११ः४० मा उनको मृत्यु भएको थियो । आफन्तहरूले मृत शिशुको धड्कन नभएको पुष्टि भएपछि पनि तत्कालै अप्रेशन नगर्दा संगीताको ज्यान गएको दाबी गरेका छन् ।

यता, अस्पतालका प्रवक्ता तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले भने उपचारमा कुनै लापरबाही नभएको र संगीताको मृत्यु पल्मोनरी एम्बोलिजमका कारण भएको दाबी गरेका छन् । उनले पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई अनावश्यक शल्यक्रियाको जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको बताएका छन् । व्यथा लाग्ने औषधि चलाउने बित्तिकै संगीतालाई ‘कार्डियाक अरेस्ट’ भएको र आईसीयूमा बचाउने हरसम्भव प्रयास गरिए पनि सम्भव नभएको अस्पतालको भनाइ छ ।


सम्बन्धित समाचार
भर्खरै