२४ कात्तिक,काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिक डुब्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार करिब ३०० जना अझै बेपत्ता छन् ।
अधिकारका अनुसार आइतबारसम्म उद्धार टोलीहरूले पाँच महिला र एक बालिकासहित सात शव फेला पारेका छन् । यद्यपि, १३ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले अझै ठूलो संख्यामा हराएका आप्रवासीहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।
म्यानमारको बुथिडाउङ क्षेत्रबाट सुरुमा ठूलो जहाजमा राखी पठाइएका आप्रवासीहरूलाई सीमानजिक पुगेर साना–साना डुंगामा विभाजन गरिएको बताइएको छ । प्रत्येक डुंगामा करिब १०० जना यात्रु थिए । मलेसियाको तटमा पुग्नुअघि नै तीमध्ये एक डुंगा दुर्घटनामा परेका कारण यो ठूलो मानवीय क्षति भएको हो ।
सुरक्षा स्रोतका अनुसार, आप्रवासीहरूले म्यानमारको जातीय हिंसाबाट ज्यान जोगाउन समुद्रमार्ग हुँदै मलेसिया प्रवेश गर्ने प्रयास गर्दै आएका हुन् । अधिकारीहरूले यस्तो अवैध आप्रवासन रोक्न समुद्री निगरानी कडा पारिएको बताएका छन् ।

















