२४ कात्र्तिक, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नो शपथग्रहणको विषयमा उठेका विवादहरूमाथि स्पष्टीकरण दिएका छन् ।
उनले आफू शपथ लिनका लागि ‘भागेको नभएर’ काठमाडौँ जान लागेकी प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारी भएको ठाउँ पछ्याउँदै बर्दिबासको पानस होटलसम्म पुगेको दाबी गरेका छन् । मुख्यमन्त्री यादवका अनुसार उनी आइतबार साँझ नै नियुक्त भइसकेका थिए, तर प्रदेश प्रमुखलाई सञ्चो नभएर काठमाडौँ जान लागेको थाहा पाएपछि फोन गरेर ‘शपथका लागि किन कुर्नु, हामी त्यहीँ आउँछौँ’ भन्दै होटलसम्म पुगेर शपथ लिएका हुन् ।
उनले आफ्नो शपथग्रहण प्रदेश प्रमुखको कार्यालयभन्दा बाहिर हुनुलाई ठूलो विषय बनाइएको भन्दै, यसअघि पनि मधेश सरकारमा सहभागी नेताहरूले कहिले कबर्ड हलमा त कहिले होटलमै शपथ लिएको उदाहरणहरू रहेको तर्क गरेका छन् । मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा नियुक्त गरेकी हुन् ।
यद्यपि, निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मतको प्रक्रियामा सहभागी नभई राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) बाटै नयाँ सरकार गठनको आह्वान हुनुपर्नेमा सिधै उपधारा (३) मा टेकेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै अन्य दलहरूले चर्को विरोध गरिरहेका छन् ।
यादवले भने प्रदेश प्रमुखले कानुनी राय लिएरै र प्रदेश संरचना जोगाउनका लागि धारा (३) बाट सरकार गठन प्रक्रिया अगाडि बढाएको दाबी गरेका छन्। यद्यपि, १०७ सदस्यीय प्रदेश सभामा २५ सिट मात्र रहेको एमाले दलका नेता यादवले अबको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न आवश्यक ५४ सांसदको समर्थन जुटाउन भने उनलाई ठूलो चुनौती रहेको देखिन्छ।















