२४ कात्र्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय पालनामा कमजोरी देखिएको भन्दै प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंकलाई कालोसूची सम्बन्धी नियमको उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । कालोसूचीमा रहेका व्यक्ति वा संस्थालाई खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै बैंकिङ कारोबार गर्न नपाउने व्यवस्थाविपरीत कुमारी बैंकले काम गरेको पाइएकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम बैंकलाई सचेत गराइएको छ ।
यसैगरी, प्राइम कमर्सियल बैंकमा गरिएको निरीक्षणका क्रममा पनि विभिन्न कमजोरीहरू फेला परेका छन्। प्राइमले केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिका आधारमा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भार गणना गर्दा तोकिएअनुसार नगरेको पाइएको छ । यद्यपि, नियामकिय पालना नगरेको पाइए पनि केन्द्रीय बैंकले प्राइम कमर्सियल बैंकलाई सचेत मात्र गराएको छ ।
विशेषगरी क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार केही कर्जाको जोखिम भार गणना नगरेको पाइएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत सचेत गराइएको छ ।















