२४ कात्र्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) भित्रको माओवादी केन्द्रसहितको एकता प्रक्रियामा नगएका नेताहरू औपचारिक रूपमा नेकपा एमालेमा समाहित भएको छ ।
सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत विघटित नेकपा एसकी नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा र खादामाला लगाएर स्वागत गरेका छन् ।
यस क्रममा उनीहरूले सांकेतिक रूपमा पार्टी अध्यक्ष ओलीलाई कलम हस्तान्तरण गरेका थिए, जुन एकीकृत समाजवादीको चुनाव चिह्न थियो । झाँक्री र श्रेष्ठसँगै केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायतका नेताहरू पनि एमालेमा समाहित भएका छन् । यो ‘घर फर्क अभियान’ एमालेका लागि संगठन सुदृढीकरणको महत्त्वपूर्ण कदम मानिएको छ भने माधव नेपाल नेतृत्वको दलका लागि ठूलो धक्का हो ।















