२४ कात्तिक,काठमाडौं । कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भएपछि थाइल्यान्डले सोमबार शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ।
दुई देशबीच सीमा विवादका कारण अहिलेसम्म कम्तिमा ४३ जनाको मृत्यु भइसकेको छ भने दुवै पक्षका तीन लाख भन्दा बढी नागरिकहरू विस्थापित भएका थिए। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गत जुलाईमा थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद अन्त्य गर्न सम्झौता भएको थियो।
थाई सेनाले विज्ञप्ति मार्फत सिसाकेट प्रान्तमा भएको विस्फोटमा एक सैनिकको खुट्टामा गम्भीर चोट लागेको र अर्को सैनिकको छातीमा दुखाइ भएको जनाएको छ। थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुल्कियातले सम्झौताको कार्यान्वयन स्थगित गर्ने निर्णय भएको पुष्टि गरेका छन्।
यस सम्झौतामा अर्को चरणको रूपमा थाइल्यान्डमा हिरासतमा रहेका १८ जना कम्बोडियन सैनिकहरूको रिहाइसमेत समावेश थियो। थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले पत्रकार सम्मेलनमा भने, “हामीले सोचेका थियौँ कि सुरक्षा खतरा कम भएको छ, तर वास्तविकता त्यस्तो छैन।”
कम्बोडियाका अधिकारीहरूले विस्फोटबारे तत्काल टिप्पणी नगरेको भए पनि, विगतमा सीमामा भएको नयाँ विस्फोटबारे थाइल्यान्डको आरोप अस्वीकार गरेका छन्। कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा शान्ति कायम राख्न “अटुट प्रतिबद्धता” व्यक्त गरेको छ।

















