Logo

२४ कात्तिक,काठमाडौं । नेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल भएको बताएका छन्।

सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा सहभागी हुँदै उनले सम्बोधन गर्दै यस्तो बताएका हुन्। श्रेष्ठले भने, “हामीजस्ता पार्टीमा फर्कनका लागि आउनुभएका साथीहरूको जीवनको सबैभन्दा सत्य क्षण हो। विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौं। यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो। यो समयले पनि बताएको छ।”

उनले पुनः जनताको भरोसा जित्ने दाबी पनि गरे। उनले भने, “हामी फेरि जनताको भरोसा जित्नेछौं। हामी फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौं। आज हामी हृदयबाट भन्न चाहन्छौं, यो फर्काइ केवल राजनीतिक निर्णय होइन। यो जनताको बीच फर्कने यात्राको सुरुवात हो।”

हाल केही सय जनाको संख्यामा अभियानमा सहभागी भए तापनि श्रेष्ठले देशभरबाट आफूजस्ता बाटो बिराएका नेता तथा कार्यकर्ताहरू पुनः एमालेमा फर्कने दाबी गरे। उनले विश्वास दिलाउँदै भने, “यो अभियानको सुरुवातबाट देशभर किसान श्रेष्ठजस्ता बाटो बिराएका कमरेडहरू यस अभियानमा जोडिनेछन्।”

एमालेले यस अभियानमार्फत आफ्नो संगठन सुदृढ गर्दै पार्टी एकतामा जोड दिन खोजिरहेको छ।


सम्बन्धित समाचार
भर्खरै