Logo

२४ कात्तिक,काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूले समयले दिएको र दिने बताएकी छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा झाँक्रीले आन्दोलनको मात्र होइन, राष्ट्रिय राजनीतिकै मूल प्रवाह नेकपा एमाले रहेको बताइन्। उनले भनिन्, “नेकपा एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो।”

झाँक्रीले जेन-जी आन्दोलनको आलोचना गर्दै यसलाई सरकार र एमालेविरुद्धको सुनियोजित षडयन्त्र भएको बताइन्। उनले भनिन्, “आज जेन-जी आन्दोलन भर्सेज नेकपा एमाले उभिएको छ। जेन-जी आन्दोलनको रोटी सेकाएर सबै शक्ति एमालेविरुद्ध लागेका छन्।”

एमालेको नर्सरीमा हुर्किएका सबै व्यक्तिहरूलाई राष्ट्रको जिम्मेवारी पूरा गर्न एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिइन्। झाँक्रीले प्रश्न उठाइन्, “जेन-जी आन्दोलनको स्वामित्व खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र संसद् जलेको घटनालाई कसरी जस्टिफाई गर्न सक्छन्? ज्युँदै मान्छे जलाउँदा ठिक छ भन्नेकाविरुद्ध आज एमाले उभिएको छ।”

झाँक्रीले पीडितहरू अहिले नेकपा एमालेलाई खोज्दै रहेको बताइन्। उनले भनिन्, “आज एमाले नै जनताको रक्षक शक्ति हो, यो वास्तविकता हो, र यसबाट भाग्न सकिँदैन।” उनले जेन-जीका युवाहरूलाई एमालेमा आउन आह्वान पनि गरिन्।

नेतृ झाँक्रीले एमालेले सबैलाई पार्टी प्रवेशका लागि ढोका खुला गरेको अनुभूति भएको बताउँदै, “हामीले पार्टीमा पुर्याएको क्षतिलाई पनि पुरा गर्ने गरी पिठ्युँ थापेर लाग्ने छौँ,” भनिन्।

अन्तमा उनले माधव नेपालपछि लागेर केही नहुने भन्दै सबैलाई मुख्य प्रवाहमा फर्कन र गति समान नभएको यात्रामा नहिँड्न आह्वान गरिन्।


सम्बन्धित समाचार
भर्खरै