२६ कार्तिक, वीरगञ्ज । नेकपा (एमाले) सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पार्टीभित्र कुनै पनि भ्रष्टाचार र कमिसनखोरी सहन नहुने चेतावनी दिएका छन्। उनले पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई लक्षित गर्दै पार्टीमा “भ्रष्ट र कमिसनखोरहरूको लागि कुनै ठाउँ छैन” भन्ने कठोर प्रतिक्रिया दिएका हुन्।
मङ्गलवार सखुवा प्रसौनी गाउँपालिकाको एकडेरवा टोलमा आयोजित नेकपा (एमाले) गाउँपालिका स्तरीय जनसभामा बोल्दै अध्यक्ष यादवले भने, “एमालेमा सिद्धान्तविपरीत काम गर्नेहरूलाई स्थान छैन। पार्टीले अब यस्ता गतिविधि कतै पनि सहने छैन।”
उनको भनाइ हालै पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा गम्भीर भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री गुप्तामाथि केन्द्रित रहेको स्पष्ट देखिएको थियो। यादवले स्पष्ट शब्दमा भने, “राजकुमार गुप्ता भ्रष्टाचारी हुन्। उहाँका लागि एमालेमा कुनै ठाउँ छैन। यदि उनी तपाईंको गाउँ आए भने प्रश्न सोध्नुहोस् – ‘तपाईं भ्रष्ट हो, जेल जान तयार रहनुहोस्।’ हामी उनका पक्षमा छैनौँ।”
अध्यक्ष यादवले पार्टीभित्र शुद्धीकरण अभियान आवश्यक भएको भन्दै भने, “यदि पार्टीले गुप्तालाई टिकट दियो भने हामीले उनलाई खेद्नेछौँ।” उनले गुप्तालाई केन्द्रीय कमिटीबाट पनि निलम्बन गरिएको दाबी गरे।
पालिका सचिव चन्दन सहनीको अध्यक्षतामा सम्पन्न भएको जनसभामा प्रदेश कमिटी सदस्य मन्जुर अन्सारी, जिल्ला कमिटी सदस्य जसवन्त यादवलगायत नेताहरूको उपस्थिति थियो। सयौँ स्थानीयवासीको सहभागितामा सम्पन्न सभामा पार्टीको आगामी रणनीति र स्थानीय विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
गुप्तामाथि अख्तियारको मुद्दा
पूर्व मन्त्री राजकुमार गुप्तामाथि पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा संलग्न भएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, गुप्ताले कास्कीमा भूमि आयोग अध्यक्ष नियुक्ति र राजस्व कार्यालय प्रमुखको सरुवा रोक्नका लागि ७८ लाख रुपैयाँ घूस लिएको अडियो प्रमाण फेला परेको छ। सो अडियो सार्वजनिक भएपछि उनले तत्काल मन्त्री पदबाट राजीनामा दिएका थिए।
मुद्दामा अख्तियारले गुप्तासहित सात जनाविरुद्ध समान रकम फिर्ता र जरिवाना माग गरेको छ। यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि प्रमुख अभियुक्तका रूपमा छिन्।
गुप्ताले अडियो आफ्नो नभएको दाबी गर्दै स्वर परीक्षणमा सहयोग गरे पनि अख्तियारले प्रमाण पुष्टि भएको जनाएको छ।
घटनाले एमालेको आन्तरिक राजनीतिमा असर पारेको बताइन्छ। पर्सा क्षेत्र नम्बर ३ मा गुप्ताको प्रभाव रहे पनि स्थानीय नेताहरूले उनलाई पार्टीबाट टाढा राख्नुपर्ने माग गर्दै आएका छन्। अध्यक्ष यादवको ताजा अभिव्यक्तिले पार्टीभित्रको असन्तुष्टिलाई अझ बल पुर्याएको देखिएको छ।















