Logo

२६ कार्तिक, काठमाडौँ । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीमध्ये करिब ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको छ। बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित यो रकम भुक्तानी गरेको बीमा प्राधिकरणले जनाएको छ।

बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार, जेन–जी आन्दोलनबाट उत्पन्न विभिन्न क्षतिका कारण कूल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको थियो। तर, हालसम्म भुक्तानी तथा अग्रिम पेश्की स्वरूपमा करिब १५.७ प्रतिशत रकम वितरण भइसकेको कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए।

उनका अनुसार, सम्पत्ति बीमा तर्फ हालसम्म सबैभन्दा धेरै दाबी दर्ता भएका छन्। कुल ६९३ वटा दाबी परेको यस वर्गमा करिब १९ अर्ब ४ करोड ९ लाख बराबरको दाबी रकम दर्ता भएकोमा करिब २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

त्यस्तै मोटर बीमा तर्फ २ हजार २९० वटा दाबी परेका छन्। यस वर्गमा करिब ३ अर्ब ४७ करोड ७ लाख बराबरको दाबी दर्ता भएकोमा हालसम्म ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा तर्फ २०९ वटा दाबी दर्ता भएका छन्। करिब ५४ करोड ७५ लाख रुपैयाँ बराबरको दाबी रकममध्ये करिब ६ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ।
त्यस्तै परिवहन बीमा तर्फ १२ वटा दाबी परेका छन्, जसको कुल रकम १ करोड ६८ लाखमध्ये ४७ लाख रुपैयाँ भुक्तानी भएको छ।
अन्य बीमा शीर्षकमा ४२ वटा दाबी परेका छन्, जसको करिब ३९ करोड ३० लाख बराबरको दाबी रकममध्ये करिब २३ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित वितरण गरिएको छ।

बीमा प्राधिकरणका अनुसार, दाबी प्रक्रियालाई छिटो र पारदर्शी बनाउन कम्पनीहरूलाई निर्देशन दिइएको छ। प्राधिकरणले भनेको छ — “प्रभावित बीमितहरूलाई शीघ्र राहत उपलब्ध गराउनका लागि बीमा कम्पनीहरूले अग्रिम भुक्तानीको व्यवस्था गरेका छन्।”

यसैबीच, नेपाल पुनर्बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीहरूलाई जेन–जी आन्दोलनसम्बन्धी क्षतिपूर्तिका लागि करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको जनाएको छ।

नेपाल पुनर्बीमा कम्पनीमा हालसम्म २ हजार ८५७ वटा पुनर्बीमा दाबी दर्ता भएका छन्, जसको कूल दाबी रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीले सार्वजनिक गरेको छ।

विश्लेषकहरूका अनुसार, जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र अन्य क्षतिको कारण बीमा क्षेत्रमा देखिएको दाबी परिमाण पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो हो।


सम्बन्धित समाचार
भर्खरै