Logo

२६ कात्र्तिक, काठमाडौं । टर्कीको सेनाको एक सी–१३० कार्गो जहाज मङ्गलबार अजरबैजानबाट टर्की फर्किने क्रममा जर्जियाको आकाशमा दुर्घटनाग्रस्त भएको छ, जसका कारण चालक दलका सदस्यसहित जहाजमा सवार सबै २० जना सैनिकको मृत्यु भएको छ ।

टर्कीको रक्षा मन्त्रालयका अनुसार, विमानले जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेपछि केही मिनेटभित्रै टावरसँगको सम्पर्क टुटेको थियो । एसोसिएटेड प्रेसका अनुसार, दुर्घटना जर्जियाको सिग्नाघी नगरपालिकास्थित अजरबैजानको सिमाना नजिक भएको थियो, जहाँ जर्जियाली अधिकारीहरू साँझ करिब ५ बजे पुगेर खोज तथा उद्धार कार्य थालेका थिए ।

यस दुःखद घटनाप्रति टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले गहिरो दुःख व्यक्त गर्दै मृतक सैनिकहरूलाई ‘सहिद’ को रूपमा स्मरण गरेका छन् र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र जर्जियाका विदेशमन्त्री माका बोतचोरिशविलीले पनि टर्कीप्रति समवेदना व्यक्त गरेका छन् ।

दुर्घटनाको कारण पत्ता लगाउन टर्कीले एक विशेष अनुसन्धान टोली जर्जिया पठाउने तयारी गरिरहेको छ। टर्की सेनामा जनशक्ति र सामग्री ढुवानीका लागि सी-१३० विमानहरू व्यापक रूपमा प्रयोग हुने गर्छन्।


सम्बन्धित समाचार
भर्खरै