२६ कात्र्तिक, काठमाडौं । निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै पनि आधिकारिक लिखित वा मौखिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन् ।
बुधवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यो विषयमा सरकार वा यसका कुनै पनि निकायले आफूलाई कुनै सूचना नदिएको, नसोचेको र यसबारे जानकारी नगराएको बताएका छन् । लेखकले आफूलाई कुन संविधान, कुन कानुन, कुन ऐनको कुन प्रावधानबमोजिम, के औचित्यका लागि र कति अवधिका लागि स्थानहद गरियो भन्ने बारेमा अझै पनि अनभिज्ञ रहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
उनले आफूलाई र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गरिएको वर्तमान सरकारको निर्णय दुई महिनाअघि मात्रै समाचारका माध्यमबाट सुनेको समेत बताएका छन् । यसले सरकारको निर्णय प्रक्रिया र सूचना आदानप्रदानको अवस्थामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
यसैगरी, निवर्तमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमन को जिम्मेवारी लिन अस्वीकार गरेका छन् । उनले आन्दोलनका क्रममा कुनै पनि अप्रिय घटना नहोस् भनेर आफूले सुरक्षा संयन्त्रलाई सजग गराएको तर दमनको जिम्मेवारी आफूले नलिने स्पष्ट अडान राखेका छन् ।















