Logo

२६ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मुलुकको वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी लोकतान्त्रिक प्रक्रियालाई सही मार्गमा अगाडि बढाउन आगामी आम निर्वाचन नै एकमात्र विकल्प रहेकोमा जोड दिएका छन् ।

बुधवार सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेसले यस निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने बताएका हुन् । कोइरालाले निर्वाचनमा सहभागी हुन कांग्रेस तयार रहे पनि त्यसका लागि उचित वातावरण बनाउने मुख्य जिम्मेवारी सरकारको भएको औंल्याएका छन् । उनले हाल देशमा भयरहित र स्वस्थ वातावरणको अभाव रहेको भन्दै निर्वाचनको तयारीलाई लिएर सरकारको ध्यानाकर्षण गराए ।

पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व व्यवस्थापनमा पनि कोइरालाले महत्वपूर्ण सुझाव दिएका छन् । उनले पार्टीलाई विशेष महाधिवेशनमा जान नहुनेमा जोड दिँदै विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई समेत विश्वासमा लिएर अगाडि बढ्नु नै व्यवहारिक हुने तर्क गरे । पार्टीको महाधिवेशनको विषयमा पक्ष(विपक्षमा बाँडिएर द्वन्द्व बढाउनुभन्दा सबैको भावना समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

यस विषम परिस्थितिमा राष्ट्र र पार्टीलाई सही दिशा दिन बीपी कोइरालाको ‘राष्ट्रिय मेलमिलापको नीति’ लाई मनन गर्दै एकताबद्ध पार्टी निर्माण आजको आवश्यकता भएको उनले स्पष्ट पारे । साथै, उनले जेनजी आन्दोलनपछि नयाँ सरकार बने पनि संविधान यथावत रहेको बताउँदै फागुन २१ को निर्वाचनबाट बन्ने प्रतिनिधिसभाले मात्रै आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने धारणा राखेका छन् ।

यसैगरी, उनले जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै २३ र २४ भदौको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पनि माग गरेका छन् ।


सम्बन्धित समाचार