२७ कार्तिक, काठमाडौँ । भारत भ्रमणमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थान महिला टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। खेल देहरादुनस्थित आयुष क्रिकेट एकेडेमीमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि मङ्सिर ३ गतेसम्म हुने श्रृंखलाका खेलहरू विश्वकप छनोट प्रतियोगिताको तयारीका रूपमा आयोजना गरिएको हो। नेपाली टोली यसअघि नै भारत पुगेर अभ्यास सत्र पूरा गरिसकेको छ।
नेपालले भारतका राजस्थान, पश्चिम बङ्गाल र उत्तराखण्ड महिला टोलीहरूसँग गरी कुल ६ मैत्रीपूर्ण खेल खेल्ने तालिका तय भएको क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार, नेपालले आज पहिलो खेल राजस्थानसँग खेल्नेछ भने भोलि (२८ कार्तिक) उत्तराखण्डसँग दोस्रो खेल खेल्नेछ। त्यसपछि पर्सि (२९ कार्तिक) पश्चिम बङ्गालसँग, मङ्सिर १ गते पुनः राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेलिनेछ।
क्यानका अनुसार, भारत भ्रमण नेपाली महिला टोलीका लागि विश्वकप छनोट प्रतियोगिताको तयारीमा महत्त्वपूर्ण अभ्यास अवसर हो। भारतीय घरेलु टोलीहरूसँगको खेलले टोलीको प्रदर्शन, खेलकौशल र संयोजन सुधारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपालकी कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको टोलीमा कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन्।
नेपालले पछिल्ला वर्षहरूमा महिला क्रिकेटमा निरन्तर प्रगति गर्दै आएको छ। यही पृष्ठभूमिमा भारतमा हुने मैत्रीपूर्ण श्रृंखला टोलीको अन्तर्राष्ट्रिय तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।

















