२७ कार्तिक, महोत्तरी । नेपाल सरकारको निर्देशनअनुसार जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीले यससम्बन्धी सूचना जारी गर्दै जिल्लाभित्र स्थायी ठेगाना भएका घाइतेहरूलाई सक्कल नागरिकता प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “गृह मन्त्रालय (राहत तथा तथ्याङ्क व्यवस्थापन शाखा) बाट प्राप्त निर्देशन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको विवरणका आधारमा जेन-जी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गरिनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गरी आफ्नो परिचयपत्र प्राप्त गर्नुपर्नेछ।”
सरकारले जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान, उपचार र दीर्घकालीन राहत व्यवस्थापनका लागि परिचयपत्र वितरण गर्नुपर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार देशभरका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले क्रमशः परिचयपत्र वितरण प्रक्रिया अगाडि बढाइरहेका छन्।
महोत्तरी प्रशासनका अनुसार, परिचयपत्र वितरणपछि घाइतेहरूलाई आगामी राहत, उपचार सहयोग र पुनःस्थापना कार्यक्रमहरूमा प्राथमिकता दिइनेछ।
सरकारले यसअघि आन्दोलनका क्रममा मृत्यु भएका र घाइते व्यक्तिहरूको विवरण संकलन गरी राहत रकम वितरणको तयारी पनि गरिरहेको छ। गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयहरूलाई घाइतेहरूको तथ्याङ्क अद्यावधिक गर्न र राहत प्रक्रिया पारदर्शी ढंगले सञ्चालन गर्न निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले घाइतेहरूलाई समयमै सम्पर्क गर्न आग्रह गर्दै भनेको छ, “परिचयपत्र वितरणले पीडितहरूलाई सरकारी राहत कार्यक्रममा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।”
















