२७ कात्तिक, हेटौँडा । बाराको सिमरामा रहेको सूर्य नेपाल प्रालिका कर्मचारी भएको नाटक गर्दै विभिन्न व्यापारीलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगन्ज–१९ का ४० वर्षीय रामराउत कुर्मी, र वीरगन्ज–३२ टेढाघरका हाल हेटौँडा उपमहानगरपालिका–१० टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेशकुमार केशरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले आफूलाई सूर्य नेपाल प्रालिको कर्मचारी भन्दै हेटौँडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र रकम बुझाएको देखिने नक्कली बैंक भौचर व्हाट्सएपमार्फत पठाउने गरेका थिए। व्यापारीहरूले सामान वीरगन्ज पठाएपछि मात्र ठगी भएको थाहा पाएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कार बोगटीका अनुसार उनीहरूले विभिन्न समयमा व्यापारीहरूबाट १७ लाख ८७ हजार रुपैयाँ बराबरका सामान ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ।















