२७ कात्र्तिक, काठमाडौं । भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आजैबाट सेवा निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ माथि निगरानी बढाएको छ ।
आयोगको आज बसेको बैठकले खापुङलाई विदेश भ्रमणमा जान पूर्ण रूपमा रोक लगाउने महत्त्वपूर्ण निर्णय गरेको छ । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जनाएअनुसार, खापुङलाई आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने गरी सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय पनि भएको छ ।
प्रवक्ता शर्माले दिएको जानकारीअनुसार, भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझका क्रममा खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुन सक्ने भएकाले आजैदेखि लागू हुने गरी यी प्रतिबन्धहरू लगाइएका हुन् । आयोगले यो निर्णयबारे खापुङलाई समेत जानकारी दिने व्यवस्था मिलाएको छ ।
यसैबीच, आयोगले सो आन्दोलनमा भएको क्षतिको विवरण अझै पठाउन बाँकी रहेका सरोकारवालाहरूलाई इमेल वा कार्यालयमै उपस्थित भएर विवरण उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।















