२७ कात्र्तिक, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको अनुमानअनुसार, आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव ८८ प्रतिशत ले बढ्ने अपेक्षा गरिएको छ ।
विशेषगरी खाद्यान्न तथा तरकारी उत्पादनमा भएको वृद्धिका कारण यो सुधार हासिल हुने अनुमान छ । कार्यालयको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान गरिएकोमा मधेश प्रदेशको जीडीपी उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रुपैयाँ रहने अनुमान छ । यसैगरी, चालू आवमा मधेश प्रदेशको प्रतिव्यक्ति आय बढेर ९ सय ३२ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
मधेश प्रदेशको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको ३६ दशमलव ७० प्रतिशत रहेको छ । यो क्षेत्रमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०।२७ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीको उत्पादन १४ दशमलव ०१ प्रतिशतले बढेको छ । यद्यपि, फलफूल र मसलाको उत्पादनमा भने केही कमी आएको छ । प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६२ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसका साथै, औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ५ दशमलव ११ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ९ करोड पुगेको छ । तर, गत आवमा मधेशका उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४६ दशमलव ४७ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ ।
यस प्रदेशमा राष्ट्रिय गौरवका आयोजनाहरू जस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमहरू कार्यान्वयन चरणमा रहेका छन्, जसमध्ये हुलाकी सडकमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको छ ।
अर्कोतर्फ, नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार गत आवमा मधेशका होटलमा कार्यरत कर्मचारीको संख्या २० दशमलव ४२ प्रतिशतले घटे पनि पर्यटक आगमनमा १८ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्यामा पनि मधेश प्रदेश अग्रस्थानमा छ, जहाँबाट गत आवमा मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २३ दशमलव १० प्रतिशत नागरिक विदेशिएका थिए ।















