२७ कात्र्तिक, काठमाडौं । नेपाल प्रहरीको कमाण्ड सम्हालेका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरी सुधारका दुई महत्त्वपूर्ण विषयलाई जोडदार रूपमा उठाएका छन् ।
बिहीबार गृहमन्त्रालयमा दर्ज्यानी चिह्न प्राप्त गरेपछि करिब २० मिनेट लामो सम्बोधनका क्रममा आईजीपी कार्कीले नेपालीहरूको जनघनत्व बढी भएका विदेशका प्रमुख देशहरूमा प्रहरी सहचारी राख्ने र प्रहरी कर्मचारीहरूको रासन वृद्धि गर्ने विषयलाई प्राथमिकताका साथ उठान गरेका हुन् ।
उनले राज्यको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने प्रवासी नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिमा सहयोगका लागि प्रहरी सहचारी राख्ने प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेमा आफू आशावादी रहेको बताए । नेपाल प्रहरीले यसअघि पनि पटकपटक खाडी मुलुक, अमेरिका, चीन र युरोपका केही देशहरूमा प्रहरी सहचारी राख्न माग गर्दै आए पनि भारतबाहेक अन्यत्र यो व्यवस्था लागू हुन सकेको छैन ।
यसैगरी, आईजीपी कार्कीले प्रहरी कर्मचारीले पाउने रासन अन्य सुरक्षा निकायको तुलनामा असमान र कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्न आवश्यक पोषणका लागि अपर्याप्त रहेको कुरा सबैले बुझिसकेको भन्दै रासन वृद्धि हुनुपर्ने आशय व्यक्त गरे । उनले यी आन्तरिक सुधारका मुद्दाका साथसाथै निकट भविष्यमा हुन गइरहेको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी पूर्ण रूपमा तत्पर रहेको प्रतिबद्धता पनि जनाएका छन् ।















