२७ कात्तिक,वीरगञ्ज । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रथम वार्षिक उत्सव आज वीरगंजमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा “खेली मधेश, जीती मधेश” नारासहित खेलकुद क्षेत्रको विकास, सरसफाइ र अनुशासनको सन्देश प्रवाह गरिएको थियो।
उत्सवको अवसरमा खेलकुद परिषद्का कार्यालय परिसरमा सरसफाइ, पेन्ट–रोगन र दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो। सहभागीहरूले खेलकुद क्षेत्रलाई सफा, सुन्दर र अनुशासित बनाउने अभियान सञ्चालन गरेका थिए। उक्त कार्यक्रम दिपक साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानुले युवाहरूमा खेलकुदमार्फत एकता, स्वास्थ्य र अनुशासनको भावना विकास हुने बताए। उनले मधेशमा खेलकुदको स्तर उकास्न साझा प्रयास र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने, “खेलकुदले युवालाई सकारात्मक सोच र नेतृत्व क्षमतामा उचो बनाउँछ। युवाहरू खेलमा संलग्न भए मधेशको गौरव अझ माथि उठ्नेछ।”
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नाजिर हुसैन अन्सारीले कार्यालयको स्थापना कालदेखि हालसम्मका गतिविधिहरूको जानकारी दिँदै भने, “हामीले खेलकुद संरचनाको सुधारका लागि निरन्तर काम गरिरहेका छौं। कार्यालय परिसरमा खानेपानी ट्यांकी, खेल मैदान मर्मत तथा खेल सामग्री सुधारका काम सम्पन्न भइसकेका छन्।”
कार्यक्रममा विभिन्न खेल संघका प्रतिनिधि र खेलकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष अतिथिहरूमा पर्सा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थ, जुडोका वरिष्ठ प्रशिक्षक पृथ्वी आलोक, सितोरिया कराते संघका प्रशिक्षक दिलीप कुमार पटेल, टाइक्वान्डोका वरिष्ठ खेलाडी विक्रम डङ्ग्गोल, साथै जिल्ला प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी हवलदार रामबहादुर तथा विभिन्न सञ्चारकर्मी, खेलकर्मी र स्थानीय युवाहरू उपस्थित थिए।
आयोजक समितिले जनाएको छ, उक्त कार्यक्रमले मधेशका युवाहरूमा ऊर्जा, एकता र सकारात्मक सोचको सन्देश फैलाएको छ र खेलकुद क्षेत्रको सतत विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

















