२७ कात्तिक,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ अन्तर्गत स्थानीय बासिन्दाको दैनिक जीवनलाई सहज बनाउन सार्वजनिक शौचालय निर्माण सम्पन्न गरिएको छ। सामाजिक संस्था “नमस्ते गुम्डा” को आर्थिक सहयोगमा चार स्थानमा शौचालय निर्माण गरिएको हो, जसमा दुई विद्यालय र दुई सार्वजनिक स्थल समावेश छन्।
करीब २४ लाख रुपैयाँको लागतमा निर्माण गरिएका शौचालयहरू सोलकपुर माध्यमिक विद्यालय र दलित आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षक–शिक्षिकाको प्रयोगका लागि राखिएका छन् भने सोलकपुर चोक र लक्ष्मीपुर चोकमा सर्वसाधारणको प्रयोगका लागि उपलब्ध छन्।
नमस्ते गुम्डाका प्रतिनिधि कृष्ण धरेलले सार्वजनिक शौचालयको अभावले स्थानीय बासिन्दा र आवत–जावत गर्नेहरूलाई असहज बनाइरहेको बताउँदै, चार स्थानमा प्राथमिकता दिएर निर्माण गरिएको जानकारी दिए। उनले स्थानीयले यसको संरक्षण र जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने पनि जोड दिए।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै शौचालय निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे। साथै पानी ट्यांकी, धारा र शौचालय निर्माण गरेको उपलक्ष्यमा वडा कार्यालयले संस्थालाई सम्मान पनि गरेको छ।
वडा अध्यक्ष यादवले सफा र स्वस्थ समुदाय निर्माणमा यस्ता पहल उदाहरणीय भएको भन्दै आगामी दिनमा पनि सामाजिक संस्थासँग सहकार्य गर्दै विकासका कार्य निरन्तर हुने बताए।

















