२७ कात्र्तिक, काठमाडौँ । निर्वाचन आयोगले मतदाता सूची दर्तालाई सहज बनाउन सुरु गरेको राष्ट्रिय परिचयपत्रको जैविक तथ्यांक (बायोमेट्रिक्स) प्रयोग गर्ने महत्त्वपूर्ण अभ्यासको शुभारम्भ आज ट्रमा सेन्टरबाट गरिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा जेन–जी आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचाररत प्रकाश बोहोरा र मुकेश अवस्थीले अस्पतालकै शय्याबाट मतदाता परिचयपत्रका लागि अनलाइन फारम भरेका छन् । अब बायोमेट्रिक तथ्यांकका आधारमा उनीहरूले आफ्नो मतदाता परिचयपत्र इमेलमार्फत प्राप्त गर्न सक्नेछन् ।
मतदाता सूचीमा नाम लेखाउनेहरूको चाप अत्यधिक बढेपछि त्यसलाई सहज बनाउन आयोगले यो अभ्यास सुरु गरेको हो । यसअघि प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार सिंहदरबारमा आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बसेको बैठकले राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण प्रयोग गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीको सो निर्णय लगत्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र आयोगका सूचना प्रविधि शाखाका कर्मचारीहरूले रातभरि काम गरेर यो सेवालाई कार्यान्वयनमा ल्याएका हुन् । बिहीबार निर्वाचन आयोगमा जेन–जेड युवाहरूसहितको उपस्थितिमा यस प्रणालीको सफल परीक्षण पनि गरिएको थियो ।















