२७ कात्तिक,काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले यो जानकारी दिएका हुन्।
गृहमन्त्री अर्यालका अनुसार, आन्दोलनका क्रममा १४ हजार ५ सय ५४ जना कैदीबन्दी भागेका थिए भने हालसम्म ९ हजार ४ सय ४१ जनालाई फिर्ता गरिसकिएको छ। फरार रहेका बाँकी कैदीबन्दीहरूको सूची सार्वजनिक गरी खोजी कार्य तीव्र पारिएको छ।
साथै, आन्दोलनका क्रममा झन्डै १२ सय थान हतियार लुटिएकामा ७ सय १८ थान फिर्ता भइसकेको छ। प्रहरी युनिटमा ४ सय ६५ वटा क्षति पुगेकोमा ४ सय ४८ युनिट पुनः सञ्चालनमा आएको छ।
त्यस्तै, प्रहरीले ४ सय २९ जनालाई पक्राउ गरेको छ भने आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै १ सय ६८ जनामाथि मुद्दा लगाइएको छ।
गृहमन्त्री अर्यालले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको उल्लेख गर्दै सरकारले ती चुनौतीहरू समाधान गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा आगामी चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।















