२७ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले बिहीबार औपचारिक रूपमा पदभार ग्रहण गरी आफ्नो कार्यभार सुरु गरेका छन्।
प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु काबाडीले डा. कर्णलाई स्वागत गर्दै प्रदेशको राजनीतिक अवस्था, प्रशासनिक संरचना र हालका चुनौतीबारे जानकारी गराएका थिए।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कर्णले मधेश प्रदेशलाई “सीताको जननीको भूमि” भनेर वर्णन गर्दै यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानप्रति सम्मान व्यक्त गरे। उनले प्रदेश प्रमुखको रूपमा पत्रकारमैत्री दृष्टिकोण अपनाउने र सञ्चारकर्मीहरूको सुझाव तथा सहकार्य अत्यावश्यक रहेको बताए।
डा. कर्णले संविधानको रक्षा, सुशासन प्रवर्द्धन र न्यायपूर्ण ढंगले प्रदेशको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको पनि उल्लेख गरे। मुख्यमन्त्री नियुक्ति विवादबारे सोधिएको प्रश्नमा उनले अदालतको आदेश र संवैधानिक मापदण्डअनुसार अघि बढ्ने स्पष्ट पार्दै, कानूनी प्रक्रिया पालना गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित समारोहमा डा. कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।















