२८ कार्तिक, वीरगञ्ज । धान बाली लगाउने समयमा परेको सुक्खायाम र भित्र्याउने समयमा परेको अविरल वर्षाका कारण यो वर्ष मधेश प्रदेशमा धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने प्रारम्भिक अनुमान गरिएको छ।
कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशद्वारा विहीबार आयोजना गरिएको प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले यस वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट देखिएको जानकारी दिए ।
उनका अनुसार धान रोपाइँका संवेदनशील समयमा देखिएको सुक्खायामका कारण मधेश प्रदेशमा धान खेतीयोग्य कुल क्षेत्रफलमध्ये १३ प्रतिशत जमिनमा रोपाइँ हुन सकेन। “अहिलेसम्म संकलित प्रारम्भिक तथ्याङ्कले प्रदेशमा करिब २० प्रतिशतसम्म धान उत्पादन घट्ने संकेत देखिएका छन्,” यादवले भने, “सुक्खायामका कारण रोपाइँ प्रभावित भयो, अनि भित्र्याउने बेला परेको वर्षाले बालीमा थप क्षति पुर्यायो।”
कृषि अनुसन्धान निर्देशनालयका अनुसार मधेश प्रदेशमा विगत वर्षहरूमा करिब १३ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ। तर, यस वर्ष उत्पादन स्तर करिब १० लाख मेट्रिक टनको हाराहारीमा झर्ने अनुमान गरिएको छ।
मधेश प्रदेशका आठ जिल्लामा तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको थियो। तर, प्रतिकूल मौसमी अवस्थामा ८७ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले कृषि क्षेत्रमा यान्त्रिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्ने लक्ष्य प्रदेश सरकारले अघि सारेको बताए । “हामी उपलब्ध प्रविधिको उच्चतम उपयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित र उत्पादक बनाउन काम गरिरहेका छौँ,” उनले भने।
त्यस्तै, कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशका प्रमुख विश्वेरप्रसाद यादवले कृषि प्राविधिकको क्षमता अभिवृद्धि तथा तिनीहरूका माध्यमबाट प्रविधि र अनुसन्धान किसानसम्म पुर्याउने उद्देश्यले यस्ता कार्यशाला गोष्ठीको आयोजना गरिँदै आएको बताए। “नयाँ प्रविधि र अनुसन्धान किसानसम्म पुर्याउन प्राविधिक भूमिकालाई थप सशक्त बनाउन यस्ता गोष्ठी महत्त्वपूर्ण हुन्छन्,” उनले जोड दिए।
समग्रमा, प्रतिकूल मौसम, पानीको अभाव र बाली भित्र्याउने समयमा परेको वर्षाका संयुक्त प्रभावले मधेश प्रदेशमा धान उत्पादनमा ठूलो गिरावट आउन सक्ने देखिइरहेको कृषि विज्ञहरूको मूल्यांकन छ ।

















