Logo

default

२८ कार्तिक, काठमाडौँ । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)-२०२५ का लागि टिकट दर सार्वजनिक गरेको छ । क्यानले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि टिकट मूल्य निर्धारण गरेको हो ।

क्यानका अनुसार उद्घाटन खेल तथा शनिबार पर्ने खेलहरूको साधारण टिकट पाँच सय रुपैयाँ तोकिएको छ । त्यस्तै, सोही दिनका खेलका लागि प्रिमियम (भीआईपी) टिकटको मूल्य १५ सय रुपैयाँ छ ।

अन्य समूह चरणका खेलहरूमा साधारण टिकट पाँच सय नै रहनेछ भने प्रिमियम टिकट एक हजार रुपैयाँ तोकिएको छ । प्लेअफ तथा फाइनल खेलका लागि भने टिकट दर केही बढाइएको छ । यी निर्णायक खेलहरू हेर्न साधारण टिकट एक हजार र भीआईपी टिकट दुई हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।

क्यानले जारी गरेको विज्ञप्तिमा सिजनभरका सबै खेल हेर्न चाहने दर्शकका लागि ‘सिजन पास’ १५ हजार रुपैयाँमा उपलब्ध गराइने उल्लेख छ ।

एनपीएलका टिकट अनलाइनमार्फत मात्र बिक्री हुनेछन् । दर्शकले खल्ती र आईएमई पे एप प्रयोग गरी टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको क्यानले जानकारी दिएको छ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा देशका प्रमुख सहरका फ्रेन्चाइज टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ । लिगको तयारी अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ ।


सम्बन्धित समाचार