Logo

२८ कात्तिक, वीरगञ्ज । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चुलिँदै जाँदा सात दलीय गठबन्धनले सुरु गरेको सडक प्रदर्शन शुक्रबार बिहानदेखि निरन्तर जारी छ। मधेश भवनको मुख्य गेट अगाडि विहानैदेखि कांग्रेस, माओवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, एकीकृत समाजवादी लगायत दलका सांसद तथा कार्यकर्ताहरू धर्नामा बसेका छन्।

संबिधान मर्मविपरीत गरिएको भनिएको मुख्यमन्त्री नियुक्ति र प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विरोधमा सुरु गरिएको आन्दोलनमा सहभागीहरूले ‘मुख्यमन्त्री नियुक्ति खारेज गर’, ‘संविधान मिच्न पाइदैन’ जस्ता नाराबाजी गरिरहेका छन्। प्रदर्शनस्थलमा विहानैदेखि ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति देखिएको छ।

गठबन्धनका नेताहरूले २३ गते तत्कालीन प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति गैरसंबैधानिक भएको आरोप लगाउँदै यसविरुद्ध व्यापक आन्दोलनको घोषणा गरेका थिए। शपथग्रहणकै दिन मुख्यमन्त्री कार्यालयमा तोडफोड र कर्मचारीमाथि हातपात भएको घटनापछि प्रदेशमा राजनीतिक तनाव थप बढेको छ।

मधेश भवन अगाडिको सडकमा भइरहेको धर्नाले आवत–जावतमा समेत ठूलो असर परेको छ। सर्वसाधारणलाई सडक पार गर्न कठिनाइ हुन थालेपछि स्थानीय प्रशासनले संवादमार्फत समाधान खोज्ने प्रयास गरिरहेको बताइएको छ।


सम्बन्धित समाचार