Logo

२८ कात्तिक, काठमाडौं  । नेपाल र भारतबीचको पारवहन सन्धिको प्रोटोकलमा संशोधन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भएको दुईपक्षीय भेटपछि लेटर अफ एक्सचेन्ज आदान–प्रदान गरेर संशोधनलाई औपचारिकता प्रदान गरिएको हो।

संशोधनअनुसार, कोलकाता/विशाखापटनम्बाट विराटनगर–जोगवनी र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेल तथा सडकमार्ग प्रयोग गरी सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने व्यवस्था भएको छ। यसअघि दुवै नाकाबाट रेलमार्फत केवल चार प्रकारका वल्क सामान मात्र ढुवानी गर्न पाइन्थ्यो।

उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार यसले नेपालको पारवहन लागत र समयमा कमी ल्याउँदै व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सिन्हा र गोयलबीच भएको भेटमा द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवद्र्धनबारे विस्तृत छलफल भएको थियो। भारतले नेपाललाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै गोयलले सम्बन्धित विषयलाई यथाशीघ्र टुंगोमा पुर्‍याउन दुई पक्षलाई सक्रिय रहन निर्देशन दिएका छन्।

भारतको वाणिज्य मन्त्रालयले पनि जारी गरेको प्रेस विज्ञप्तिमा प्रोटोकल संशोधनले दुवै देशबीच मल्टिमोडल व्यापार सम्पर्क बलियो बनाउने र नेपाल–तेस्रो मुलुकबीचको व्यापारमा पनि सहयोग पुग्ने उल्लेख छ।


सम्बन्धित समाचार