२८ कात्तिक,काठमाडौं । प्रेस चौतारी नेपालले नेकपा (एमाले)को आगामी महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पार्टी अध्यक्ष बनाइनु पर्ने बताएको छ। संगठनका अध्यक्ष गणेश पाण्डेका अनुसार, देशका चुनौती समाधान गर्न फेरि पनि ओलीकै नेतृत्व अपरिहार्य रहेको छ।
शुक्रबार बिहान बसेको केन्द्रीय बैठकमा पाण्डेले वर्तमान राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताएका छन्। चौतारीले देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन ओलीको विकल्प नभएको उल्लेख गरेको छ।
पाण्डेले भने, “अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ।”
उनले भदौ २३–२४ गते भएको आन्दोलन प्रतिक्रान्ति भएको दाबी गर्दै यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको टिप्पणी गरेका छन्।
निवर्तमान अध्यक्ष गणेश बस्नेतले पनि ओलीको नेतृत्वमा एमाले अघि बढाउने विकल्प नरहेको बताएका छन्। बस्नेतका अनुसार, ओली र पार्टीलाई जनताले दिएको विश्वास तथा नेतृत्व क्षमताका कारण विभिन्न कोणबाट आक्रमण भइरहेको छ।
महासचिव हिरामान लामाले संगठनमा अनुशासन कायम गर्नु आवश्यक भएको उल्लेख गर्दै, सबै सदस्यले स्पष्ट जिम्मेवारी, आचरण र अनुशासन देखाउनुपर्ने बताए।
















