Logo

२८ कात्तिक,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा ६ वर्षदेखि १८५ भन्दा बढी मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेको छ। कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका यी कन्टेनर हाल पनि बेवारिसे अवस्थामा भन्सार कार्यालयमा थुप्रिएका छन्।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए अनुसार, २०७६ सालमा आयात गरिएका २२० कन्टेनरमध्ये १८५ कन्टेनर अझै अलपत्र छन्। त्यसैगरी, तीन वटा कन्टेनर आवश्यक कानुनी प्रक्रिया पूरा भई फिर्ता भइसकेका छन् भने १४ वटा कन्टेनर खाली भएर कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेका छन्।

ज्ञवालीले बताए, “आयातकर्ताको पहिचान गर्न नसक्दा कन्टेनर सुक्खा बन्दरगाहमा अलपत्र भइरहेका छन्। अहिले पनि ती १८५ कन्टेनर मुचुल्का उठाएर सिलबन्दी गरेर राखिएका छन्। कानुनी प्रक्रिया लामो भएकाले व्यवस्थापनमा समय लागिरहेको छ।”

सिलबन्दी कन्टेनरमा विभिन्न प्रकारका मालवस्तु राखिएका छन्। यसमध्ये ९० वटामा केराउ, ६१ वटामा छोकडा, १० वटामा पोस्ता दाना, ९ वटामा सुपारी, ७ वटामा फुड सप्लिमेन्ट, र २ वटामा मसुरो दाल रहेको छ। त्यस्तै, केही कन्टेनरमा चना, ओखर, उडन टुथब्रस, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रे समेत रहेका छन्।

प्रमुख भन्सार प्रशासक ज्ञवालीले सुक्खा बन्दरगाहमा रहेका नष्ट गर्नुपर्ने कन्टेनरको विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायसँग समन्वय भइरहेको बताए। उनले भने, “छ वर्षअघि ल्याब टेस्ट गर्दा सामान राम्रो देखिएको थियो, अहिले बिग्रिएको हुन सक्ने भएकाले नष्ट गर्नुपर्ने वस्तुका लागि फेरि ल्याब टेस्ट आवश्यक पर्न सक्छ।”


सम्बन्धित समाचार