२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्लो समय प्रदेशमा देखिएको राजनीतिक अस्थिरताप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार अस्थिरताको चपेटामा परेका सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक गतिविधिहरू प्रभावित बन्दै गएका छन्, जसले प्रदेशको समग्र प्रगतिमा अवरोध सिर्जना गरिरहेको छ।
बिहीबार पदभार ग्रहण गरेका प्रदेश प्रमुख लाभले शुक्रबार विज्ञप्ति जारी गर्दै सबै राजनीतिक पक्षमा सहकार्य, संयम र अनुशासित राजनीतिक आचरण अपनाउन आग्रह गरेका छन्। समाज निरन्तर परिवर्तनशील हुने र आरोह–अवरोह स्वाभाविक रहेको बताउँदै उनले चुनौतीका बीच पनि लक्ष्यप्रति दृढ रहिरहनुपर्ने आवश्यकता औंल्याए।
विज्ञप्तिमा प्रदेश प्रमुख लाभले पछिल्ला दिनमा प्रदेशमा बढ्दो राजनीतिक अनिश्चितता, आपसी अविश्वास, आशंका र आक्रोशका कारण विकास कार्यदेखि प्रशासनिक सेवा–प्रवाहसम्म प्रभावित भइसकेको टिप्पणी गरेका छन्।
उनले भनेका छन्,
“संविधानको मूल मन्त्र सह–अस्तित्व, समन्वय र सहकार्य आत्मसात् गर्दै एक–अर्काको अस्तित्व तथा मर्यादालाई सम्मान गर्न सबै पक्षलाई आह्वान गर्दछु।”
प्रदेश प्रमुख लाभले मधेश प्रदेश संघीयता कार्यान्वयनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको भूगोल भएको उल्लेख गर्दै, संघीयता सुदृढ र प्रभावकारी बनाउन यहाँका नागरिक, राजनीतिक नेतृत्व र प्रदेश सरकारकै विशेष दायित्व रहेको बताएका छन्।
प्रदेश प्रमुखले वर्तमान राजनीतिक समस्याको विधिसम्मत समाधान गर्दै सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणको अभियानमा सबै पक्षको एकता अनिवार्य रहेको बताएका छन्।उनले राजनीतिक दल, जनप्रतिनिधि, पत्रकारिता क्षेत्र, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज, कर्मचारीलगायत सबै पक्षलाई मधेश प्रदेशको प्रगतिमा हातेमालो गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ,“समुन्नत भविष्यको मार्ग प्रशस्त गर्न सहकार्य, समन्वय र संवाद अनिवार्य छ। मधेश प्रदेशको प्रगतिको महाअभियानमा सबैले हातेमालो गर्नुपर्छ।”
प्रदेश प्रमुख लाभको यस्तो आह्वान हाल प्रदेशमा जारी राजनीतिक चहलपहल र सत्ता पुनर्संयोजनका चर्चाबीच आएको हो।

















