Logo

२८ कात्तिक, काठमाडौं ।निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको म्याद पाँच दिन थप्ने तयारी गरेको छ। आयोगले यसअघिको निर्णयअनुसार कात्तिक मसान्तसम्म नाम संकलन गर्ने समय निर्धारण गरेको थियो। तर देशभर देखिएको उत्साह, भीडभाड र चापलाई मध्यनजर गर्दै आयोग म्याद थप्न अन्तिम तयारीमा पुगेको आयोग स्रोतले जनाएको छ।

आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी नाम दर्ताको समय थप गर्न आग्रह गरेकी थिइन्।मतदाता नामावली दर्तामा देखिएको ठूलो चापका कारण आम नागरिकलाई सहज बनाउन केही दिन समय वृद्धि आवश्यक भएको प्रधानमन्त्रीको सुझाव थियो।आयुक्त भण्डारीले प्रधानमन्त्रीलाई आयोग यस विषयमा सकारात्मक रहेको जानकारी गराएका थिए।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनमार्फत नाम दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि हिजोबाटै अनलाइन आवेदनको संख्या अत्यधिक बढेको आयोगले जनाएको छ।
अनलाइन प्रणालीमार्फत दर्ता सहज भए पनि एकैपटक धेरै आवेदक थपिएपछि स्थानीय दर्ता केन्द्रहरूमा समेत भीड बढेको बताइएको छ।

कुल दर्ता प्रक्रिया प्रभावकारी बनाउने उद्देश्यले केही राजनीतिक दलहरूले समेत म्याद वृद्धि गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।आयोगले सबै सुझाव तथा वर्तमान अवस्थाको मूल्यांकनपछि अबको पाँच दिनभित्र म्याद थपको औपचारिक घोषणा गर्ने बताइएको छ।

आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता महत्वपूर्ण चरण भएकाले आयोगले नागरिकको सहज सहभागिता सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइने जनाइएको छ।


सम्बन्धित समाचार