२८ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोबबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ। ललितपुरमा चलेको लामो वार्तापछि तीनै पक्षले सहकार्य गर्दै संयुक्त रूपमा अघि बढ्ने सम्झौता गरेका हुन्।
जारी गरिएको सहमतिपत्रअनुसार तीनै पक्ष—नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियार—नेपालको राजनीतिक समग्र पुनर्संरचना गर्ने साझा लक्ष्य लिएर एकमत भएका छन्।
सहमतिका मुख्य बुँदामा आगामी दिनमा बन्ने एकीकृत पार्टीकाे नाम र चुनाव चिह्न एउटै बनाइने उल्लेख छ। यसले नयाँ राजनीतिक संरचना निर्माणमा केन्द्रित व्यापक एकता प्रक्रियालाई बल दिने बताइएको छ।
त्यस्तै, मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति पनि भएको छ, जसमा राष्ट्रिय पुनर्संरचनाका बारे विस्तृत रोडम्याप सार्वजनिक हुने अपेक्षा छ।
सहमतिपत्रको चौथो बुँदामा देश तथा विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक वामपन्थी तथा देशभक्त शक्तिहरू, विशेषगरी जे–नजी पुस्तालाई राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरिएको छ। नयाँ पुस्तालाई अग्रभूमिमा ल्याई परिवर्तनको गति तीव्र बनाउने उद्देश्य समेटिएको छ।
सहमतिपत्रमा माओवादी केन्द्र छोडेका पूर्व उपमहासचिव **जनार्दन शर्मा ‘प्रभाकर’**को नाम औपचारिक रूपमा उल्लेख गरिएको छैन।तर सहमति प्रक्रियामा उनी र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सक्रिय रूपमा सहभागी भएको स्रोतले जनाएको छ। जनार्दनले सुदन किरातीलाई अगाडि सारेर पाँच बुँदे सहमति गराएका हुन्।

















